काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासमा पछाडि फर्कने र अहिलेकै यथास्थितिमा रुमलिने छुट नभएको बताएका छन् । शनिबार बडा दसैंको शुभकामना दिँदै प्रधानमन्त्रीले प्रचण्डले सो कुरा बताएका हुन् ।
जनताले युगौंदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्ने उनले बताए ।
‘पूर्वीय सभ्यता दर्शन, चिन्तन, परम्परा, संस्कृतिहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली छौं। हामीले नेपाली विशेषता र मौलिकताको सम्बर्द्धन एवं विकास गरेर ज्ञान, विज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्छौं। यस दृष्टिले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको छ। यस जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश समाज र संस्कृतिलाई थप समुन्नत तुल्याइँ राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो। यो सँगै हाम्रा मौलिक पर्वहरू भित्र रहेका सकारात्मक र मानवीय जीवनमूल्यका संस्कार प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकोमा म जोड दिन चाहन्छु,’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्।
यतिखेर मुलुक अवसर र चुनौतीको कठिन परिस्थितिबाट गुज्रिइरहेको प्रधानमन्त्रीले बताए। लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धीहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती मुलुकका सामु रहेको उनको भनाइ छ।
‘हामीलाई पछाडि फर्कने या यत्तिकै रुमलिने छुट छैन। हामीले नेपाली जनताले युगौंदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नै पर्दछ। यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सृजनात्मक सोचको विकास हुन जरुरी छ। जात, वर्ग, धर्म, लिंग, वर्ण, भूगोल, आस्था र साम्प्रदायिक सोचबाट माथि उठेर गरे हुन्छ, परिवर्तन सम्भव छ भन्ने सामुहिक र सकारात्मक चिन्तन अहिलेको आवश्यकता हो,’ उनले भने ।
Leave a Reply