Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नबिल र हिमालयनसहित ६ बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कानून विपरित कार्य गरेको भन्दै ६ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले नबिल, हिमालयन, एनएमबि, एनआईसी एशिया, लक्ष्मी सनराइज र सिटिजन्स बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकको सूपरिवेक्षण विभागले २ वटा बैंकलाई नगद जरिवाना गराएको छ भने बाँकीलाई सचेत गराएको जनाएको छ । विभागले वाणिज्य बैंक र बैंकका अध्यक्ष, संचालक र प्रमूख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।

कारबाहीस्वरुप लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्दिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै ७० लाख रुपैयाँ जरिवाना गराएको छ भने हिमालयन बैंकले वैशाख महिनामा कर्जा–निक्षेप अनुपात कायम नगरेकोमा १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

त्यसैगरी व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी अन्य प्रयोजनका लागि कर्जा प्रवाह गरेको एनएमबि बैंक पनि कारबाहीमा परेको छ । उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पुर्ण रकम ऋणीबाट फिर्ता गराई राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको छ ।

नबिल बैंकका सन्चालक र प्रमुख कार्यकारी अधिकृतलाई भने एकीकृत निर्देशन उल्लङ्घन गरी ब्याजदर बढाएको भन्दै नियमित ब्याज र पेनाल तथा संस्थागत मुद्धती निक्षेपमा ग्राहकहरुलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको भन्दै सचेत गराएको छ ।

त्यसैगरी सिटिजन्स बैंकका सीईओलाई कर्जा सापटको वर्गिकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको तथा प्रिमियम दरमा निर्देशन विपरित पटक–पटक वृद्धि गरेको भन्दै सचेत गराएको छ ।

एनआईसी एशिया बैंकका सीईओ र सञ्चालक समितिलाई भने ग्राहकहरुसँग बढी लिएको ब्याज सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न दिएको निर्देशन अटेर गरेको, बैंकले क्यापिटल एडुकेसी फ्रेम वर्क विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ्ग गरेको र राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको उल्लङ्घन गरेको भन्दै सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077