Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कांग्रेसका ८ भाइ युद्ध जितेर घर आए, हामीले गाला जोडिसक्यौं : उद्धव थापा

    कांग्रेसका ८ भाइ युद्ध जितेर घर आए, हामीले गाला जोडिसक्यौं : उद्धव थापा

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 1.3K
    SHARES

    विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस सांसद उद्धव थापाले कांग्रेसमा विद्रोह गरेर मुख्यमन्त्री बनेका केदार कार्कीसँग गाला जोडेको बताएका छन् । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापाले प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको पनि बताए ।

    केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भनाइ राख्दै उनले कांग्रेसका ८ भाइ सांसदहरूले मुख्यमन्त्री बन्न झगडा गरेको बताए । मुख्यमन्त्री बन्न झगडा गरेर कुण्ठा पोखेको र युद्धमा गएको भन्दै उनले युद्ध जितेर घर आएकाले गला मिलाएको टिप्पणी गरे । कांग्रेसमा विद्रोह गरेर ८ सांसदले एमालेसँग मिलेर कार्कीलाई मुख्यमन्त्री बनाएका थिए ।



    ‘कांग्रेस दलबाट ८ भाइ हाम्रा माननीयहरूले सरकार निर्माणका निमित्त मुख्यमन्त्री बन्ने कुरामा दलभित्र झगडा गर्नुभयो, कराउनुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो, अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो र युद्ध पनि जितेर आउनुभयो । युद्ध पनि जितेर आइसकेपछि फूलमाला लगाएर घरमा आइसकेपछि हामीले गला लगाउने भन्दा अर्को कुरा छैन,’ उनले भने–‘युद्ध नै जितेर आइसकेपछि सबै कुरा बिर्सियौं अब सम्मानका साथ मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनको तर्फबाट विश्वासको मत दिँदैछौं । कांग्रेसले हाम्रा ८ भाइ सांसदसँग गला पनि जोड्यौं । कहिले नटुट्ने त्यो गला जोड्यौं ।’



    एमालेलाई सरकारमा सहभागिताबारे सोच्न पनि थापाले आग्रह गरेका छन् । उनले कार्की मुख्यमन्त्रीमा गठबन्धनको साझा उम्मेदवार रहेको पनि बताए । कोशी प्रदेशमा सरकार गठनलाई समस्याको रूपमा हेर्दा अस्थिरता उत्पन्न भएको थापाको भनाइ थियो । उनले अहिले समाधान निस्किएको बताए ।

    ‘विश्वासको मत लिने–दिने भन्दा पनि प्रमुख विषय समाधान रहेछ । कसरी यो समस्याको समाधानमा पुग्न सक्छौं भन्ने कुरालाई परबाट हेरिरह्यौं,’ उनले भने–‘हाम्रा मुख्यमन्त्री केदार कार्की बन्दै गर्दा, एमालेको समर्थन प्राप्त गर्दै गर्दा हामी समाधानमा पुगेका छौं । समाधानको पाटोमा अब प्रदेश अगाडि बढेको जस्तो लाग्छ । कोशी प्रदेशको सरकार बनाउने म्युजिकल चेयरको खेल पनि अब अन्त्य भएको छ । त्यसैले एमालेका सांसदहरूलाई भन्न चाहन्छु, एमालेका समग्र नेतृत्वमा अनुरोध गर्न चाहन्छु अब कोशी प्रदेश सरकारलाई सदैव साथ दिएर हिँड्ने कुरामा हामी लागौं । लाग्ने कुरामा हामी प्रतिबद्धता पनि गरौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार