काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले कृषि तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भन्दै यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।