काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार साँझ सरकारी निवास बालुवाटारमा चीनमा आयोजित १९ औं एसियाली खेलकुदमा विजयी खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले आउने दिनमा अझै ठूलो सफलता प्राप्त गर्नेगरी लाग्न शुभकामना दिँदै खेल क्षेत्रको प्रवर्द्धनका लागि आफू सरकार प्रमुखको हैसियतले कुनै कसर बाँकी नराख्ने बताए । प्रधानमन्त्री दाहालले आफू खेलाडीलाई हौसला प्रदान गर्न हाङचउ पुगेर एसियाली गेम्स उद्घाटनमा सहभागी भएको स्मरण गर्दै विजेता खेलाडीलाई उचित पुरस्कार दिने काममा आफू लागेको बताए ।
खेलाडीलाई प्रोत्साहन गर्नेसम्बन्धी नियमावली यसअघिको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको उल्लेख गर्दै आजको मन्त्रिपरिषद् बैठकले खेलाडीलाई पुरस्कृत गर्नका लागि अर्थमन्त्रालयले निकासा दिने निर्णय भएको जानकारी दिए । ‘खेलाडीको प्रोत्साहनका लागि मैले पुरस्कार दिने घोषणा गरेको थिएँ, सरकारले नियमावली स्वीकृत गरिसकेको छ, आजको मन्त्रिपरिषद् बैठकमा खेलाडीलाई पुरस्कार दिनका लागि निकासाको निर्णय भयो र एक साताभित्र अर्थमन्त्रालयबाट रकम आउनेछ,’ उनले भने।
उनले खेल क्षेत्रको विकासका लागि सरकारको अंग आफूलाई ठानेर अघि बढ्नुपर्ने बताए । उनले यसपटकको एसियाली खेलकुदमा महिलाहरूको प्रस्तुति नौलो भएको उल्लेख गर्दै आउने दिनमा अझै ठूला सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।
Leave a Reply