काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा मारिएका १० जना नेपालीको सम्झनामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो। राष्ट्रिय शोकको दिन आज देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकले इजरायलमा ज्यान गुमाएका शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय पनि गरेको थियो। यस्तै, इजरायलमा ज्यान गुमाएकाका परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको थियो।
कृषि विज्ञान विषयमा प्रयोगात्मक अध्ययन कार्यक्रम ‘सिक्दै कमाउँदै’अन्तर्गत नेपालबाट गएका विद्यार्थीहरु हमास समूहको आक्रमणमा परेका हुन् । आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका १० जना विद्यार्थीहरु मारिएका हुन् ।