काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदक पक्का गरेको छ ।
नेपालले महिला कबड्डीमा कांस्य पदक जित्ने पक्का भएको हो । महिला कबड्डीको बुधबार खेलिएको समूह ‘बी’ अन्तर्गतको खेलमा इरानले बङ्गलादेशलाई ५४—१६ अङ्कले हराएपछि नेपालको पदक पक्का भएको छ ।
नेपालले एसियाली खेलकुदको महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाएको हो । बुधबारको नतिजापछि समूह ‘बी’ बाट इरान र नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
सेमिफाइनलमा पराजित भए पनि नेपालको हातमा कम्तीमा कांस्य पदक पर्नेछ । कबड्डीको सेमिफाइनलमा पराजित हुने दुबै टोलीलाई कांस्य पदक प्रदान गर्ने प्रावधान रहेको छ ।
एसियाली खेलकुदको इतिहासमै नेपालले कबड्डी (पुरुष र महिला) मा पदक जितेको यो पहिलो पटक हो ।
Leave a Reply