काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनाव हुने भएको छ । अध्यक्ष पदका तीनजना दाबेदार पछि हटेकाले अब दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको हो ।
एक दिन मतदान रोकेर गरेको छलफलपछि अध्यक्षका तीन उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । वर्तमान अध्यक्ष केशव पाण्डेले बिहीबार विहानै उम्मेदवारी फिर्ता लिएका थिए । उनले अध्यक्षका अर्का उम्मेदवार ढुंगेललाई समर्थन गरेका छन् ।
साँझ सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । दुबैले अध्यक्षका अर्का उम्मेदवार दाहाललाई समर्थन गरेको नेताहरुले बताएका छन् ।
नेताहरुले अझै पनि सहमतिको प्रयास हुने बताएपछि दाहाल र ढुंगेलबीच चुनाव हुने पक्का भएको हो । निर्वाचन मण्डलले शुक्रबार बिहान ८ बजेदेखि मतदान गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ।
संशोधित कार्यतालिका अनुसार आज बेलुका ८ बजेसम्म उमेदवारी फिर्ता, ९ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।