Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • एमालेमा अध्यक्ष ओलीको निर्देशनको अवज्ञा

    एमालेमा अध्यक्ष ओलीको निर्देशनको अवज्ञा

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् ।

    अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदैआएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके प्यानल नबनाइ स्वच्छ रूपमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न ओलीले खोजेका छन् ।



    तर, ओलीको निर्देशनविपरीत लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रेका थिए । लुम्बिनीमा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न खोजेका थिए । र, सोहीनुसार जुट्न निर्देशन दिए पनि प्रतिनिधिहरूले त्यसलाई अस्वीकार गर्दै प्रतिस्पर्धामा जुटेका थिए ।



    शक्ति संघर्षको प्रतिस्पर्धामा रहेका पौडेल र पोखरेलले आफूनिकट नेतालाई ल्याउनका लागि आन्तरिक रूपमा प्यानल बनाएर प्रतिस्पर्धामा जुटेका थिए । लुम्बिनीमा अध्यक्ष ओलीले सचिव एवं प्रदेश इन्चार्ज पद्मा अर्याललाई सुझाव दिइसकेको र मिलेर जानुहोस् भन्ने सन्देश प्रवाहित गरेका थिए । ओलीको सो सन्देशचाहिँ खासमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच बनेको गुटमा आधारित चुनावी प्रतिस्पर्धा हुने भएकाले त्यसलाई रोक्नका लागि थियो ।

    लुम्बिनीको गुटगत प्रभाव बाग्मतीमा समेत देखिएको छ । सोमबार काठमाडौंमा उद्घाटन भई बिहीबार मतदानबाटै प्रदेशको नेतृत्व चयन गरिँदै छ । लुम्बिनीबाट सुरु भएको गुटगत प्रभाव बाग्मतीमा मात्रै नभई कर्णालीसम्म पुगेको छ । र, अन्य प्रदेशमा हुने प्रदेश अधिवेशनमा समेत स्पष्ट रूपमा पौडेल र पोखरेलका बिचमा शक्ति संघर्ष देखिनेछ ।

    बाग्मतीमा प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए । लुम्बिनीजस्तै बाग्मतीमा पनि उनले सर्वसम्मत गर्न नसके स्वच्छ, प्यानल नबनाई प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने निर्देशन दिए । तर, घोषित रूपमा प्यानल नबने पनि बाग्मतीमा पनि पौडेल र पोखरेल गुट बनेको छ । पौडेल र पोखरेलले आफूनिकटका नेतालाई विजयी बनाउन लागिपरेका छन् ।

    एमाले अध्यक्ष ओलीको उत्तराधिकारीका रूपमा हेरिएका नेताहरू हुन्, उपाध्यक्ष पौडेल र महासचिव पोखरेल । एमालेभित्र दोस्रो तहका नेताहरू उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच वर्चस्वका लागि आन्तरिक रूपमा कडा प्रतिस्पर्धा हुने गरेको एमाले प्रदेश अधिवेशनले प्रस्ट पारिसकेको छ ।

    बाग्मती प्रदेशको अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका कृष्ण दाहाललाई उपाध्यक्ष पौडेलको समर्थन रहेको छ । पौडेलका साथै एमाले नेता गोकुल बाँस्कोटाको समेत दाहाललाई नै समर्थन रहेको छ । यस्तै, अध्यक्षका अर्का प्रतिस्पर्धी कैलाश ढुंगेललाई महासचिव पोखरेलको समर्थन रहेको छ । ढुंगेललाई एमाले अध्यक्ष ओलीको समेत समर्थन रहेको छ । खुल्ला रूपमा प्यानल नबने पनि आन्तरिक रूपमा पौडेल र पोखरेलले लबिइङ गरिरहेका छन् ।

    उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच लुम्बिनी र बाग्मतीमा बनेको गुटले अध्यक्ष ओलीको निर्देशनलाई लत्याएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार