काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन पार्टी मुख्यालय च्यासलमा हुने भएको छ ।
अध्यक्ष मण्डलले प्रदेश कमिटी अध्यक्ष पदका आकांक्षीहरुसँग गरेको सहमतिको प्रयास असफलपछि निर्वाचनको तयारी थालिएको हो ।
स्थायी कमिटी सदस्य समेत रहेका निर्वाचन मण्डलका संयोजक गुरु बरालसहितको टोलीले अध्यक्षका आकाङ्क्षी कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालसहित अन्य नेतासँग छलफल गरेको थियो ।
छलफलमा मुख्यगरी ढुङ्गेल र दाहाल दुवैले उम्मेदवारी दिने अडानबाट पछि नहटेपछि मतदानमार्फत नै छिनोफानो हुने गरी संवाद सकिएको हो । अध्यक्षका आकाङ्क्षी ढुङ्गेल र दाहालले पनि अव मतदानमार्फत नै नेतृत्वको छिनोफानो हुनेछ।
एमाले बागमती प्रदेश अधिवेशनमार्फत पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्यसमिति चयन हुँदैछ ।
निर्वाचन मण्डलले बुधवार साँझ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र बिहीबार बिहान ८ बजेबाट ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ ।