Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव रहेको छ।

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

वर्षाका कारण नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्ग र तराईमा हावा हुरीको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077