Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोशी अस्पताल डुब्ने, ठेक्का नै विक्री गर्न केसी कन्ष्ट्रक्सनका मानन्धरको दौडधुप

    कोशी अस्पताल डुब्ने, ठेक्का नै विक्री गर्न केसी कन्ष्ट्रक्सनका मानन्धरको दौडधुप

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 4.2K
    SHARES

    काठमाडौं । एक बर्षअघि केसी कन्ष्ट्रक्सनले कोशी अस्पताल निर्माणको ठेक्का पाएको भए पनि काम सुरु गर्न सकेको छैन । केसी कन्ष्ट्रक्सनले ठेक्का लिएर काम सुरु नगर्दा कोशी अस्पताल नै नबन्ने चिन्ता छाएको छ । कोशी प्रदेशका पहाडी जिल्लादेखि झापा, सुनसरी र मधेश प्रदेशका सप्तरी सिरहा र बिराटनगरका सीमावर्ती भारतबाट समेत कोशी अस्पतालमा बिरामी आउने गर्दछन् ।

    यति ठूलो महत्व बोकेको अस्पताल छिटो निर्माण गर्नका लागि सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यन्वयन इकाई मोरङले केसी कन्ष्ट्रक्सनलाई २०७९ मंसिरमा ठेक्का दिएको थियो । कोशी अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरेपछि केसी कन्ष्ट्रक्सनले काम सुरु गर्नुपर्नेमा उल्टै २५ प्रतिशत आफूलाई मार्जिन राखी ठेक्का बिक्री गर्न खोजिरहेको छ । ठेक्का बिक्री गर्नका लागि केसी कन्ष्ट्रक्सनका म्यानेजर बिजय मानन्धर विभिन्न कम्पनीसँग डिल गरिरहेका छन् ।



    केसी कन्ष्ट्रक्सनका मालिक सूर्यबहादुर केसीको मृत्युपछि छोरा रोशन केसीलाई कब्जामा लिएर बिजय मानन्धरले ठेक्का लिने र आफूले काम नगरी अर्कैलाई बिक्री गर्ने गरेका छन् । केसी कन्ष्ट्रक्सनको नाममा ठेक्का लिने, काम नगर्ने र अर्कै कम्पनीलाई बिक्री गर्ने प्रवृत्ति मौलाएको छ ।



    त्यसरी ठेक्का लिएर बिक्री गर्नेमा केसी कन्ष्ट्रक्सन अग्रपंक्तिमा पर्दछ । मानन्धरको सल्लाहअनुसार रोशन केसीले ठेक्का लिने र अर्कै कम्पनीलाई बिक्री गर्दा केसी कन्ष्ट्रक्सन बदनाम भएको छ । मानन्धरले रोशनलाई हातमा लिएर केसी कन्ष्ट्रक्सनले लिएका ठेक्का ११ देखि २५ प्रतिशत मार्जिन राखी बिक्री गरिसकेका छन् । कोशी अस्पतालको पनि ठेक्का बिक्री गर्न उनी लागिरहेका छन् ।

    पछिल्लो पटक एउटा कन्ष्ट्रक्सन कम्पनीले ५ वटा मात्र टेण्डर लिनगरी सार्वजनिक खरिद नियमावलीमा संशोधन भएपछि मात्रै पनि उनले ठेक्का बिक्रीबाटै रु. ५० करोड भन्दा बढी फाइदा लिएका छन् । त्यही अवस्थामा अरु आफैं काम गर्छु भन्ने ठेकेदारहरुले काम नपाएर घरखेत श्री सम्पत्ति नै बैंकबाट लिलाम हुने अवस्थामा पुगेको छ । काम गर्छु भन्ने ठेकेदारहरुले काम नपाउने र केसी जस्ता ठेक्का बिक्री गरी बीचमा मालामाल हुनेहरुलाई निरुत्साहित गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने टड्कारो आवश्यकता बनिसकेको छ ।

    कोशी अस्पतालको ठेक्का २ अर्ब १७ करोड ६६ लाख २० हजार रुपैयाँमा सेटिङमै केसीले पाएको हो । ठेक्का लिएर काम सुरु गर्नुपर्नेमा नगरी ठेक्का बिक्री गर्न लागेको केसी कन्ष्ट्रक्सनलाई सहरी विकास तथा भवन विभागले कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउनुपर्नेमा बढाएको छैन । संघीय आयोजना कार्यन्वयन इकाई मोरङले अस्पताल निर्माण सुरु नगर्ने केसीमाथि केही पनि कारबाही अगाडि बढाएको छैन ।

    संचार मन्त्रालयको डाटा सेन्टर खुमलटार र भवन विभागले नै निर्माण गरेको संसद भवनको इन्टेरियर ठेक्का पनि केसी कन्ष्ट्रक्सनले गलत प्रक्रियाबाट हत्याएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतका सबै ठूला ठेक्कापट्टा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग बसेर ५ प्रतिशतमा सबै सेटिङ भएको केसी कन्ष्ट्रक्सनका बिजय मानन्धरले भन्ने गरेका छन् । ठाउँ ठाउँमा मन्त्री बस्नेतलाई समेत बदनाम गर्ने काम केसीका बिजयले गरिरहेको स्वास्थ्य मन्त्रालयकै अधिकारी बताउँछन् । ठेक्का लिएको एक बर्षसम्म निर्माण सुरु नगर्ने केसी कन्ष्ट्रक्सनको प्रवृत्तिबाट बेलमै सजग नभए कोशी अस्पताल जस्ता थुप्रै समयमा बनाउनुपर्ने सरकारी भवनका कामहरु बिलम्ब भई जनताबाट सरकारले अपजस पाउने अवस्था देखिएको छ ।

    एक बर्षसम्म कोशी अस्पताल नबनाएको बिषयमा ब्यापक प्रश्न उठेपछि बिजय मानन्धर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका गएको समयमा आइतबार बिहान बालुवाटारभित्र प्रवेश गरी भित्र बसेर केही मानिसलाई भिडियो कल गरी कारबाहीबाट जोगिन शक्ति प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु दराईको नाम समेत मानन्धरले मुछ्ने गरेका छन् ।

    सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ, संघीय आयोजना कार्यन्वयन इकाई मोरङका प्रमुख गणेश महर्जन र विभागकै मचाकाजी महर्जनले केसी जस्तो विवादित र ठेक्का लिने, काम नगर्ने कम्पनीलाई कोशी अस्पताल निर्माणको ठेक्का दिएका थिए । सेटिङमा केसी कन्ष्ट्रक्सनलाई ठेक्का दिए पनि एक बर्षसम्म काम सुरु नगर्दा पनि उनीहरुले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सकेका छैनन् । जसका कारण अस्पताल निर्माण नै अन्योलग्रस्त बनेको छ ।

    ललिता निवास क्याम्पको जग्गा गैरकानुनी रुपमा ब्यक्तिको नाममा दर्ता गर्नेहरुले उक्त जग्गाका कारण जेल जानुपर्ला, जग्गा सरकारकै नाममा फिर्ता होला भन्ने कल्पनासम्म गरेका थिएनन् । ललिता निवासमा युवराज कोइराला नामका कानुन ब्यवसायीलाई चिढ्याउँदा मिनबहादुर गुरुङ अढाइ महिना जेल बस्नुपरेको छ भने थुप्रै ब्यापारी र सरकारका उच्चअधिकारी भागाभाग भए । त्यस्तै हविगत पोखरामा केसी परिवारको नहोला भन्न सकिन्न ।

    बिजय मानन्धरको योजनामा ठेक्का सेटिङ र बिक्रीको धन्दा गर्ने रोशन केसीका पिता सूर्यबहादुर केसीले पञ्चायतकालमा राजावादी महामण्डले भएर साविक पोखरा नगरपालिकाको ३ हजार रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गरेको बिषयमा पनि पीडित ठेकेदारहरुले प्रधानमन्त्री कार्यालयदेखि अख्तियार र सीआईबीमा उजुरी गर्ने तयारीमा छन् । स्रोतका अनुसार पञ्चायतकालमा पोखरामा हजारौं रोपनी गैरकानुनी जग्गा दर्ता भएको खोजी गर्ने हो भने फेलापर्ने उनीहरुको दावी छ । अहिलेको मूल्यांकनमा खरबका जग्गा पोखरामा गैरकानुनीरुपमा दर्ता भएका छन् । पोखरामा सरकारी जग्गा केसी परिवारले सबैभन्दा बढी दर्ता गरेको छ ।

    नेपालमा धेरै धनी मानिसहरु र खानदानी दाबी गर्नेहरुको खोजी गर्ने हो भने उनीहरुले राणाकालमा हुकुमप्रमांगीबाट र पंचायतकालमा राजाहरुलाई खुसी पारी धेरै सरकारी जग्गा दर्ता गरेको फेलापर्नेछ । २०४६ पछि पनि विभिन्न पदमा बस्दा बाबुबाजेहरुले लुट्ने, छोरानातिले पुख्र्याैली सम्पत्ति भन्दै घमण्ड देखाएर खानदानी हौं भन्ने खालका मानिसहरुको सम्पत्तिको खोजी गर्ने हो भने सबैको वास्तविकता छर्लङ्ग हुनेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार