काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ।
उपाध्यक्ष नेम्वाङको अप्रत्यासित निधनपछि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले औपचारिक कार्यक्रम नगरिने निर्णयसमेत एमालेले गरेको छ। आजको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
बैठकपछि बोल्दै कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले भने,‘हाम्रा उपाध्यक्ष सुवास नेम्वाङको गए राति १ बजेर ५० मिनेटमा हृदयघातबाट निधन भएको शोकको घडीमा सचिवालय बैठक बसेको हो । उहाँप्रति बैठकले श्रद्धाञ्जली दिँदै शोक प्रस्ताव पारित गरेको छ।’
नेम्वाङले हरेक भूमिकामा आफूलाई खरो सावित गरेको ज्ञवालीले बताए। ज्ञवालीका अनुसार शोकमा ३ दिनसम्म झन्डा आधा झुकाउने, शोक पुस्तिका राख्ने निर्णय भएको छ।