काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पूँजीवादीहरु भएको टिप्पणी गरेका छन् ।
एमालेको सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले सरकारले राष्ट्रिय उद्यमीहरुलाई छानीछानी कारबाही गरेको आरोप लगाए ।
अध्यक्ष ओलीले भने, ‘सोलुको एउटा बच्चा भारी बोकेर हिँड्थ्यो त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाको छ । पर्यटन, होटल पनि चलाएको छ । गर्न पाइन्छ भारी बोकेर हिँड्ने शेर्पाले ? अहिले माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी, यती यती, भाटभटेनी भाटभटेनी, मीनबहादुर मीनबहादुर, गुरुङको छोरो भारी बोकेर आएको कसरी गरिखायो ? खान दिनु हुँदैनमात्रै भन्छन् ।’
उनले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालकलाई अनाहकमा पक्राउ गरेर दुःख दिएको टिप्पणी गरे । यती होल्डिङ्सलाई पनि सरकारले दुःख दिएको ओलीले टिप्पणी गरे ।
सरकारको यस्तो रबैयाका विरुद्ध बोल्नेहरुलाई दुख दिने गरेको पनि ओलीले बताए । सरकारले भन्ने गरेको भ्रष्टाचार र अनियमितताविरुद्धको कारबाहीलाई ओलीले दलाल पुँजीपतिको फण्डा र तमासा भएको जिकिर गरे ।
अध्यक्ष ओलीले भने,‘यो दलाल पुँजीपतिहरुको तमासा हो, पोलिटिकल स्टन्ट, दलाल पुँजीवादीहरुको फण्डा हो, त्यसकारण त्यसका पछाडि कोही छन् भने दलाल पुँजीवादीहरु छन् । यिनको टुप्पी दलाल पुँजीवादीहरुको हातमा छ।’
कोरोना महामारीले पनि बिगार्न नसकेको नेपालको अर्थतन्त्र अहिलेको गठबन्धन सरकारका कारण बिग्रेको ओलीले टिप्पणी गरे ।