विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशलाई बजेटविहीनताको अवस्थाबाट अन्त्य गर्ने बताएका छन् ।
शुक्रबार साँझ मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै कार्कीले यस्तो बताएका हुन् । उनले आइतबारसम्म अध्यादेशमार्फत बजेटविहीनताको अवस्था अन्त्य गर्ने बताए ।
भदौ १० गते भित्र कार्की नेतृत्वकै सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयक सदनबाट पारित नहुँदा ‘फेल’ भएको थियो ।
अहिले कोशी प्रदेश बजेटविहीन अवस्थामा छ । यस्तै उनले प्रदेशमा सहमतिको सरकार बनाउने प्रयास हुने बताए । कांग्रेस, एमालेसहितका दलहरु मिलेर सहमतिको सरकार बन्ने सम्भावना बलियो रहेको उनको भनाई छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका हुन् ।