बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ।
लुम्बिनी प्रदेश कमिटीको नेतृत्व सहमतिमा चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन हुन् लागेको हो । सहमतिको प्रयास असफल भएसँगै निर्वाचन कमिटीले निर्वाचनको प्रक्रिया थालिसकेको छ ।
सोमबार बिहान ११ बजेसम्म उम्मेदवारी मनोनयन समय तोकिएकोमा उक्त समय सकिएपछि निर्वाचन कमिटीले उम्मेदवारी दिएकाहरूको नाम सङ्कलन गरिरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सकेसम्म सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका थिए। तर सम्भावना नदेखिएपछि निर्वाचन प्रक्रिया थालिएको हो।
लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
दिउँसो १ बजेसम्मका लागि दाबी विरोधको समय तोकिएको छ। एमालेकै भावी नेतृत्वका रुपमा हेरिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आफ्नो गृह प्रदेशलाई प्रतिष्ठाका रुपमा लिएका छन्।
त्यहीअनुसार उपाध्यक्ष पौडेलनिकट कँडेल र पोखरेलनिकट रिजाल मैदानमा आएका हुन्।