बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना टरेपछि प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरु छलफलमा जुटेका थिए ।
तर दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको छ । दुबैले उम्मेदवारी दर्ता गरेका छन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् ।
रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् । कँडेल एमाले प्रदेश कमिटीको तदर्थ समिति अध्यक्ष हुन् । उनी चितवन महाधिवेशनपछि तदर्थ समितिको अध्यक्षमा चुनिएका थिए ।
अर्का आकांक्षी रिजाल चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका हुन् । एमाले अध्यक्ष ओलीले समेत नेतृत्व सर्वसम्मत बनाउने गरी पहल गर्न लुम्बिनी प्रदेशबाट केन्द्रमा पुगेका पदाधिकारीलाई निर्देशन दिएका थिए ।