बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अन्य पार्टीहरुले देश चलाउन नसक्ने बताएका छन् ।
शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशको अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले आफ्नो पार्टीबाहेक अन्य दस पार्टी मिलाएर गठबन्धन गरे पनि देश चलाउन नसक्ने बताए।
अहिलेको गठबन्धन सरकारले देशलाई संकटमा लगेको भन्दै ओलीले देशलाई सफल अवतरण गराउने पार्टी एमालेमात्रै रहेको दाबी गरे ।
अध्यक्ष ओलीले भने,‘उद्देश्य, नीति र गन्तव्य नभएकाले एमाले बाहेकले देश चलाउन सक्दैनन् । अरुको १० वटा बुद्धि र एमालेको एउटा बुद्धि पुग्दो छ, एमालेले मात्रै देश चलाउँछ । पार्टी र देशलाई गन्तव्यमा पुर्याउने छ । ’
एमाले बाटो बिराउने पार्टी नभई आफ्ना गन्तव्य र लक्ष्यमा पुग्ने पार्टी भएको उनको दाबी छ । अध्यक्ष ओलीले मिसन८४ एमाले एक्लैले तीन तहकै सरकारमा बहुमत ल्याउने अभियान भएको बताए ।
त्यसका लागि अरु सबै दल एकातिर तर एमाले एक्लैले बहुमतको सरकार बनाउने गरी जुटेको बताए ।