काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन अदालतले गरिदयो भन्ने गलत भाष्य बनाउन खोजिएको बताएका छन् ।
सोमबार काठमाडौंमा एमालेका जनप्रतिनिधिहरुसँगको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहाल प्रचण्डले गराएको आरोप लगाए ।
अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीले त्यही नाममा पहिले नै दर्ता गरिसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊ भनेको तर आफूले अनेक कोशिस गर्दा पनि प्रचण्ड तयार नभएका कारण पार्टी विभाजन भएको ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले भने,‘अदालतले फुटाएको होइन, प्रचण्डले फुटाएको हो । अदालतले त यो नाम मिलेन, बदर गरियो । अर्को नाममा दर्ता गर भनेको थियो । अर्को नाम लिएर भोलि दर्ता गर्न जाँदा हुन्थ्यो । नाम मात्रैको कुरा थियो । तर त्यही निहुँ पारेर, अदालतले फुटायो भन्ने हल्ला फिजाएर कम्युनिस्ट पार्टीलाई टुक्र्याउन र यसबाट भाग्न खोजेका थिए । भागे ।’
त्यसपछि प्रचण्डले माओवादी फुटाएर लगेको र माधव नेपालले पटकपटक फुटाउन खोज्दा निर्वाचन आयोग, सभामुखको संयुक्त साँटगाँठबाट एमालेलाई पुनः विभाजन गरेको बताए ।
अध्यादेश जारी गर्ने हुँदैन भनेर असंवैधानिक क्रियाकलाप भनेर अदालतमा पुगेर मुद्दा फिर्ता ल्याउनेहरू २० प्रतिशतमा फुटाउने भनेर लागे । ओलीले निर्वाचन आयोगले पनि पार्टी फुटाउनका लागि कोशिस गरेको र माधव नेपाललाई मद्दत गरेको उनको आरोप छ ।