काठमाडौं । कोशी सरकारविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजको लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको हो । कोशीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेतासमेत रहेका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा सभामुख इस्राइल मन्सुरीले समेत मत दिएका थिए ।
सभामुखले पक्ष वा विपक्षमा मतदान गर्न नपाउने संवैधानिक व्यवस्था छ । मत बराबरी भएको अवस्थामा भने निर्णायक मत दिन पाउँछन् ।
थापा गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । आज अन्तरिम आदेश भएमा थापा नेतृत्वको सरकार फेरि सङ्कटमा पर्ने छ ।
Leave a Reply