काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल निकट रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।