Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुल निर्माणमा १५ लाख भ्रष्टाचार, वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जनाविरूद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले इलामको माई नगरपालिकाको वडा नम्बर १ र ३ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराईलीसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सामुदायिक वनको आम्दानी हिनामिना गरेको अभियोगमा अध्यक्ष बराइलीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आइतवार आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

अध्यक्ष बराइलीलाई १५ लाख पाँच हजार ९३० बिगो कायमगरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो । बराईलीले समूहको निर्णयविना आफू अनुकूल कागजात तयारगरी गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई पुल निर्माणमा खर्च भएको भनी चार लाख रुपैयाँ र स्टेशनरी सामाग्री, बोटविरुवा खरिद तथा वितरण, संयुक्त अनुगमनका लागि विनियोजित रकमलाई ऐलानी जग्गा खरिद गरी वन समूहको ११ लाख लाख पाँच हजार ९३० रुपैयाँसमेत गरी कुल १५ लाख पाँच हजार ९३० रुपैयाँ भुक्तानीको लागि झुट्ठा बिल भरपाई पेश गरेको अख्तियारको ठहर छ ।

यस्तै पशुपति सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सल्लाहकार समूह संयोजक अर्जुनकुमार थापा र समूहका तत्कालीन कोषाध्यक्ष रामकुमारी खत्रीले लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णयविना कागजात तयारगरी मिलेमतोमा गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको पुल निर्माणमा खर्च भएको भनी चार लाख भुक्तानीको लागि झुट्ठा बिल भरपाई पेश गर्ने कार्य गरेको दिखएकोले उनीविरुद्ध चार लाख बिगो कायमगरी आरोप पत्र दायर गरिएको प्रवक्ता दाहालले बताए ।

त्यस्तै समूहका उपभोक्ता एवं चिलाउने गौडा हिले खोला क्रसिङ्ग फुटपात पुलका अध्यक्ष दिलबहादुर मगर र समूहका उपभोक्ता एवं पुलका कोषाध्यक्ष रस्मिला बराईलीविरुद्ध पनि चार लाख बिगो कायमगरी आरोप पत्र दायर गरिएको छ ।

दर्तावाला लेखापरीक्षक चन्द्रबहादुर बस्नेतले समूहसँग मिलेमतो गरी नभएका कुरा देखाई लेखापरीक्षण प्रतिवेदन पेश गरेको पुष्टि हुन आएकोले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

साथै, पशुपति सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव रामबहादुर मगर र समूहका तत्कालीन कोषाध्यक्ष चन्द्र कला श्रेष्ठविरुद्ध ११ लाख पाँच हजार ९३० रुपैयाँ बिगो कायमगरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077