काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८९ सीटको कांग्रेसलाई ३२ सीटको माओवादीले फनफनी आफ्नो पछि घुमाइरहेको बताएका छन् ।
काठमाडौंमा भएको एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसलाई कुकुर र माओवादीलाई पुच्छरसँग तुलना गर्दै व्यङ्ग्य गरेका हुन्।
अध्यक्ष ओलीले भने,‘उहाँहरुले कसका पछाडि आफूलाई लाउनुभएको हो, के का पछि लाग्नुभएको हो? त्यो उहाँहरुले जान्ने कुरा हो। नेपाली कांग्रेसका साथीहरूलाई आजको मितिमा म फेरि प्रश्न गर्न चाहन्छु– कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ? पछाडि पुच्छर चुप लागेर बस्याछ, अगाडि नेपाली कांग्रेस डोलायमान छ।’
अध्यक्ष ओलीले कांग्रेसले आत्मबल गुमाई सकेको भन्दै देशको नेतृत्व गर्न सक्छु भन्ने आँट नै उसमा नरहेको टिप्पणी गरे ।
चारवटा मन्त्री लिएर साना पार्टीका पछि हिड्ने लागुन्जेलसम्म पूरा भइरहोस् भन्दै उनले शुभकामनासमेत दिए। ओलीले सुन तस्करीमा सरकारको संलग्नता भएकै कारण उच्चस्तरीय निष्पक्ष आयोग बनाउन नमानेर आफैँ छानबिन गर्छौँ भनिरहेको आरोप लगाए ।