काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पाकिस्तानी मोडेलमा गएको आरोप लगाएका छन् ।
गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको भन्दै यसको अन्त्य यहाँ नहुने अध्यक्ष ओलीको भनाई छ । अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप देखिएको बताए ।
अध्यक्ष ओलीले भने,'मैले हिजो प्रधानमन्त्रीलाई पनि भनेको छु, तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन भनेर मैले भनेको छु । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नाङ्गो नाच के हुन सक्छ ?'
अध्यक्ष ओलीले सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हतकडी लगाउने राजनीतिक प्रचण्ड र नारायणकाजी श्रेष्ठले शुरु गरेको बताए ।
उनले यो शुरुआतमात्र भएको भन्दै यसले गम्भीर मोड लिन बाँकी रहेको दावी गरे । स्कुल पढ्दा साथीको चिट चोरेको, प्रमाणपत्र केरमेट भएको जस्ता कुरा समेत उठाएर विरोधीलाई ठेगान लगाउने खेल शुरु भएको उनले बताए ।