Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वीरगन्जका मालपोत अधिकृत मिश्रसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय वीरगन्जका मालपोत अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मालपोत अधिकृत हरिनारायण मिश्र,सनदकुमार द्वीवेदी ब्रह्मण, चन्द्रबहादुर भण्डारी, रामेश्वरप्रसाद साह, कमोद तिवारी र लेखनाथ भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

मालपोत कार्यालयको रजिष्ट्रेसन फाँट क र ग बाट रजिष्ट्रेसन पास गर्दा घरबाटो सिफारिसविना न्यूनतम मूल्याङ्‍कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना हुने गरी व्यक्तिगत लाभ लिएर लिखत पारित गरेको आयोगमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा मालपोत अधिकृतत्रय मिश्र, द्वीवेदी र भण्डारीका साथै कम्प्युटर अधिकृत तिवारी, नासु साह र नासु भट्टराईले फाँट 'क'बाट १७ वटा र फाँट 'ग' बाट २ वटा लिखतहरू पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा बदनियतपूर्वक ४ लाख २५ हजार ५३१ रुपैयाँ राजस्व चुहावट भएको पाइएको थियो ।

अख्तियारले साहलाई ३ लाख ८७ हजार, तिवारीलाई ११ हजार ७४७, भण्डारीलाई २ लाख ३९ हजार ४०४, भट्टराईलाई ३८ हजार ५२८, मिश्रलाई ६० हजार ७१९ र द्वीवेदी ब्रह्मणलाई १ लाख १३ हजार ७७८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरूविरुद्ध कैद र बिगोको दोब्बर हुने रकम २ लाख २७ हजार ५५६ रुपैयाँ जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077