काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा निर्माणपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टी जीवितै राखेको आरोप लगाएका छन् ।
जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादीसँग एमालेको एकता पानी र तेलको जस्तो बनेको बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘माओवादीसँग एकता भनिए पनि वास्तविक एकता भएन । तेल एकातिर पानी अर्कोतिर भयो । मिक्स अप नै हुन सकेन हुनै दिइएन । प्रचण्डले आफ्नो पार्टीका बैठकहरु गरिरहे । आफ्नो पार्टी जीवितै राखिरहे ।’
त्यस्तै,अध्यक्ष ओलीले नेपाली कांग्रेस माओवादीको इसारामा चलेको आरोप लगाएका छन्। उनले कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको बताए। कांग्रेसको राम्रो पक्ष रहे पनि अहिले कर्कलाको ढाँठजस्तै लर्याक्क भएको उनको भनाइ छ।
उनले कांग्रेस लोकतन्त्रको पक्षमा उभिन नसकेको आरोपसमेत लगाए। त्यतिमात्र होइन कांग्रेस भ्रष्टाचारविरुद्ध उभिन नसकेको अध्यक्ष ओलीले बताए।