Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको आह्वान - सबैको दिगो भविष्य सुनिश्चित गरी खाद्य प्रणालीमा रूपान्तरण गरौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

दिगो भविष्यका लागि मार्ग प्रशस्त गर्न आधुनिक खाद्य प्रणाली कमजोर साबित भएको भन्दै हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नु पनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राखे ।

वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यस्ता प्रणालीले हरितगृह ग्यास उत्सर्जनमा बढावा दिएको, जलवायु परिवर्तनमा प्रभाव पारेको र परम्परागत अभ्यासलाई खण्डित गरेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले खाद्य प्रणालीमा ल्याइने परिवर्तनले मात्रै जीविकोपार्जनमा सुधार, आर्थिक विकासमा बढावा दिई गुणस्तरीय जीवनयापनका लागि योगदान गर्न सकिने स्पष्ट पारे ।

प्रधानमन्त्रीले वातावरणको संरक्षण गरी, सबैका लागि दिगो भविष्य सुनिश्चित गर्ने गरी खाद्य प्रणालीमा रूपान्तरण गर्न साझा प्रयास जरुरी रहेकाले सोही मार्गमा अगाडि बढ्न सबैलाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077