Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोशीमा सरकार बनाउने अंक गणितमा सभामुखलाई गणना नगर्न एमालेको ध्यानाकर्षण

विराटनगर । कोशी प्रदेश सरकार गठनका लागि सभामुखसहितको दाबी आएमा ग्रहण नगर्न एमालेले प्रदेश प्रमुख पर्शुराम खापुङलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

एमालेले कोशी प्रदेशले सभामुख बाबुराम गौतमलाई समेत जोडेर गठबन्धनले बहुमत सिद्ध गर्न खोजेको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले ज्ञापनपत्र बुझाउँदै सभामुखले दल परित्याग गरी स्वतन्त्र हैसियतमा बसेको अवस्थामा गठबन्धनका तर्फबाट गणना गरिएको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराए।

सरकार गठनका लागि सभामुखलाई गणना गर्दा संविधान, कानुन, संसदीय मूल्य मान्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त एवं अभ्यासविपरीत हुने भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गरिएको छ ।

सभामुख गौतमलाई माओवादी गनेर ४७ सांसदको हस्ताक्षर लिएर गठबन्धन दल साढे ४ बजे सरकार गठनका लागि दाबी पेश गदैंछन् ।

कोशी प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन्।

त्यस्तै, नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। माओवादीकका सभामुखको संख्यासमेत जोड्दा गठबन्धनसँग बहुमत पुग्ने ठिक्क संख्या ४७ पुग्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077