विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । थापा बिहीबार साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जान लागेका हुन् ।
थापालाई प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले कोशीको मुख्यमन्त्रीका लागि गठबन्धनबाट दाबी पेश गर्ने निर्णय गरेको थियो।
उनलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुको समर्थन छ ।
बिहीबार विहानसम्म राप्रपालाई पनि गठबन्धनमा ल्याउन प्रयास गरेपनि समर्थन गर्न नसक्ने बताएपछि गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई पनि जोडेर दाबी पेश गर्ने तयारी गरेका छन् ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन्।
प्रदेश प्रमुख खापुङले असार १७ गते, आइतबार संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए।
कोशी प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन्। त्यस्तै, नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ।
Leave a Reply