विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्वव थापाले दाबी पेश गर्ने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले कोशीको मुख्यमन्त्रीका लागि गठबन्धनबाट थापाले दाबी पेश गर्ने निर्णय गरेको हो।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन्। गठबन्धनले सरकार गठनका लागि बिहीबार अपराह्न दाबेदारी पेस गर्ने निर्णय गरेको छ।
प्रदेश प्रमुख खापुङले असार १७ गते, आइतबार संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए।
कोशी प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन्।
त्यस्तै, नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ।