विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धन दलहरुले दाबी पेश गर्ने भएका छन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङ्गले दलहरुलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयसीमा आज अपरान्ह ५ बजे सकिँदैछ। प्रदेश सभाको प्रतिकूल गणितका कारण राप्रपा मनाउनै पर्ने बाध्यता भएपछि त्यही प्रयासमा लागेको नेपाली कांग्रेसको प्रयास अहिलेसम्म सफल भएको छैन।
गठबन्धन दलहरुले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अघि सारेका छन्। गठबन्धनका कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, सभामुखसहित, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ।
तर सभामुखलाई गणना गर्न मिल्ने कि नमिल्ने भन्ने विवाद कायमै छ। प्रदेश सभामा मत बराबरी भएर निर्णायक मत दिन मात्रै सभामुखलाई संविधानले भनेका कारण पनि गठबन्धनलाई बहुमत सिद्ध गर्न राप्रपाको साथ चाहिएको हो।
गठबन्धनले राप्रपालाई सरकारमा सहभागी गराउने तयारी गरेको थियो । तर, राप्रपाले निर्णय नदिएकाले गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई पनि जोडेर दाबी पेश गर्ने तयारी गरेका छन् ।