काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसकारण देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी र मधेस प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रहरू प्रभावित हुनसक्ने बताइएको छ ।
भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।