काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
आज राति कोसी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशका मध्य तथा पश्चिम तराईका भूभागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् रहेको जनाएको छ ।