काठमाडौं । नेपाल प्रहरीका ४५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को यही जेठ २९ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना र प्रशासनतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ४६ जना गरी कुल ५० जनामध्ये ४५ जना प्रहरी अधिकृतहरूले दर्ज्यानी चिन्ह लगाए । पदोन्नति भएका ५ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिबाट प्राप्त हुने उत्साह र उर्जासँगै आगामी दिनमा थप परिपक्वताका साथ जिम्मेवारी बहन गर्ने विश्वास लिएको बताए । पदोन्नतिलाई अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसरको रूपमा लिई पदोन्नतिको औचित्य पुष्टि हुने गरी काम गर्न उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिलाई क्रमशः परिस्कृत बनाउँदै लैजाने नीति अनुरूप निश्चित मापदण्ड र प्रणालीको आधारमा पदोन्नति भएको उल्लेख गर्दै आगामी दिनमा व्यक्तिगत स्वार्थ र महत्वकांक्षा भन्दा माथि उठेर संगठनको हितका लागि एक्यवद्ध भई कार्यसम्पदान गर्नुपर्ने बताए ।