काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्नेहरू छलफलमा नजाने अडानका कारण संसदीय समितिको बैठक प्रभावित भएको छ ।
प्रधानन्यायाधीमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग संसदीय सुनुवाइ समितिले गरेको छलफल टुंगोमा नपुगेर भाँडिएको हो ।
२३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो । सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका हुन् ।
उजुरीकर्ताहरुले कार्कीलाई समेत उपस्थित गराएर छलफल गर्नुपर्ने माग गरेका थिए । समितिले उक्त माग अस्वीकार गरेको छ । सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो ।