Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • ‘लम्पी स्किन’ रोगबाट चौरपाटी गाउँपालिकामा ६२ पशु चौपाया मरे, सयौँ सङ्क्रमित

    ‘लम्पी स्किन’ रोगबाट चौरपाटी गाउँपालिकामा ६२ पशु चौपाया मरे, सयौँ सङ्क्रमित

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    अछाम । पछिल्लो समय लम्पि स्किन रोगको संक्रमणबाट अछामको चौरपाटी गाउँपालिकामा ६२ भन्दा बढी पशु चौपाया मरेका छन् । पालिकाका ७ वटै वडामा फैलिएको उक्त रोगका कारण हालसम्म ६२ भन्दा बढी पशु चौपाया मरेको र सयौँ पशुमा संक्रमण देखिएको हो ।

    चौरपाटीस्थित भेटेरिनरी अस्पतालका नायव पशु स्वास्थ्य प्राविधिक पारस बोहराका अनुसार हालसम्म गाउँपालिकाका सातै वडामा लम्पि स्किन रोग फैलिएको छ । उनले आफूले अहिलेसम्म ७ वटै वडाबाट तथ्याङ्क संकलन गरे अनुसार ६२ पशु चौपाया मरेको जानकारी दिए ।



    उनले भने, ‘अहिलेसम्म मैले थाहा पाए अनुसार ६२ पशु चौपाया मरेका छन् । तर यो भन्दा पनि बढी पशु चौपाया मरेको हुन सक्छन् । भने लगभग तीन सयसम्मको संख्यामा पशुहरू लम्पि स्किन रोगबाट संक्रमित छन् ।’



    पशु स्वास्थ्य प्राविधिक बोहराका अनुसार अहिलेसम्म ३५ गोरु, २१ गाई र ६ वटा भैँसी लम्पि स्किन रोगका कारण मरेका छन् ।यो रोग निको पार्ने कुनै खोप नभएको आफूले जानकारी पाएको उनको भनाई छ । उनले अहिले आफूहरूले पशुमा देखिने लक्षणका आधारमा उपचार गरिरहेको बताए ।

    उनले आफू फिल्डमा खटिएर सो रोगबाट संक्रमित पशु चौपायाको उपचार गरिरहेको बताए । यो रोग नियन्त्रणमा लिने प्रयास भइरहेको र पहिलेको भन्दा अहिले कम हुँदै गएको उनको दाबी छ । आफूहरूसँग पर्याप्त मात्रामा औषधि नभए पनि स्रोत साधनले भ्याएसम्म उपचार गरिरहेको पशु स्वास्थ्य प्राविधिक बोहराको भनाई छ ।

    सुरुमा पशुमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पाक्ने जस्ता लक्षणहरू देखा पर्ने गरेको उनी सुनाउँछन् । पशुहरूमा देखिएको उक्त रोग लामखुट्टे, किर्ना र झिँगाबाट सर्ने गर्दछ । यो रोग विशेष गरी गाई गोरुमा देखा परेको र भैँसीहरूमा कम देखिएको पशु स्वास्थ्य प्राविधिक बोहराले बताए ।

    उनले यो रोग लागिसकेपछि पशु चौपायालाई क्वारेनटाइनमा राख्नुपर्ने बताए । यस्तै यतिबेला पशुबस्तुमा यो रोगले अछाम जिल्लाभर पनि महामारीको रुप लिएको बताइएको छ ।

    पशु चौपायामा लम्पी स्किन रोग देखापरेपछि किसान चिन्तित भएका छन् । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने पशु विज्ञ बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार