काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन् । सन्दीप सोमबार मध्यराति त्यसतर्फ प्रस्थान गरेका हुन् । सन्दीप दक्षिण अफ्रीका पुगेर नेपाली टोलीसँग सामेल हुने छन्।
आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारी गर्न नेपाली टोलीका अन्य खेलाडी दक्षिण अफ्रीका पुगिसकेका छन् । बलात्कार आरोपका कारण सर्वोच्च अदालतमा पेशी रहेकोले उनी गत मंगलबार टोलीका अन्य सदस्यसँग दक्षिण अफ्रीका गएका थिएनन् ।
दक्षिण अफ्रीकामा नेपाली टोलीले दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ। नेपालले जेठ २५ मा स्कटल्यान्डसँग र जेठ २७ मा नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ।
अभ्यास खेलपछि नेपाल जिम्बावे जानेछ । यस्तै प्रशिक्षक मोन्टी देशाई आज भारतको मुम्मबईबाटै दक्षिण अफ्रीका उड्ने छन् ।
सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले सन्दीपको अनुपस्थितिमा फर्केपछिको कानुनी प्रक्रियाको बारेमा सल्लाह दिएको र राष्ट्रका लागि उत्कृष्ट प्रदर्शन गरेर फर्किन शुभकामना दिए ।
सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दा सकाउन आदेश दिँदा पनि जिल्ला अदालतबाट न्याय प्रक्रिया ढिला भएको कानुन व्यवसायी घिमिरेको भनाई छ ।
सन्दीपको मुद्धामा चाडौं सुनुवाइ नहुने नदेखिएको र क्रिकेट खेल्न नपाउने अवस्थामा राज्यलाई घाटा हुने भएपछि लामो तारीख लिएर खेल्न पठाइएको कानुन व्यवसायी घिमिरेले बताए ।