Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • सन्दीप लामिछाने प्रकरण

    मंगलबार पनि अन्तिम फैसला नभए सन्दीप जिम्बाबे जाने सम्भावना कम छ : कानून व्यवसायी घिमिरे

    मंगलबार पनि अन्तिम फैसला नभए सन्दीप जिम्बाबे जाने सम्भावना कम छ : कानून व्यवसायी घिमिरे

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको छ । गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि न्यायाधीश दीपक ढकालले लामो बहसपछि मुद्दा हेर्न नभ्याइनेमा राखेसँगै लगातार सुनुवाइ हुन सकेको थिएन ।

    सर्वोच्च अदालतले बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ ।



    गत ११ वैशाखमा इजालासमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरेका थिए । तर, न्यायाधीशले इजालासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता नदिएपछि उक्त बहस अर्थहीन भएको थियो ।



    त्यसपछि २०८० बैशाख २४ लाई तोकिएको पेसी पनि स्थगित भएको थियो । बैशाख २४ मा स्थगित सूचीमा परेको उक्त मुद्दामा जेठ ७ गते पुनः पेसी तोकिएको थियो । उक्त दिन पनि सुनुवाइ भने हुन सकेन ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले प्रतिवादीको सक्कल जन्मदर्ता माग गर्दै अदालतमा पेश गर्न आदेश दिएपछि उक्त दिन सुनुवाइ हुन सकेन । न्यायाधीश पराजुलीको इजलासले पीडितको जन्मदर्ता रहेको नुवाकोटको एउटा वडाले पठाएको पत्र स्पष्ट नभएकाले फेरि अर्को पत्र ल्याउन आदेश दिएको थियो ।

    जाहेरीकर्ताले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो । सन्दीपका कानून व्यवसायी सरोजकृष्ण घिमिरे पीडित पक्षले पटक–पटक मुद्दाको सुनुवाइमा ढिलाइ गरेको बताउँछन् ।

    यसअघि ५ पटक तोकिएको पेशीमा लगातार सुनवाई स्थगित भएपछि सन्दीप निराश बनिरहेका छन् । मंगलबारको पेशी पनि स्थगित भए सन्दीप दक्षिण अफ्रिका नजाने मनस्थितिमा छन् ।

    मंगलबार पनि अन्तिम सुनुवाइ हुन नसकेमा सन्दीपलाई विदेशमा खेल्न नजान सल्लाह दिनुपर्ने अवस्था आउने कानून व्यवासयी घिमिरे बताउँछन् । घिमिरे भन्छन–‘मुद्दाको अवस्था, तारिख गुज्रिने अवस्था र सन्दिप आफै मानसिक दबाबमा रहेकाले थप दबाबमा खेल्नु भन्दा अहिलेलाई खेल्न नजान सुझाव दिनुपर्ने हुन्छ ।’

    कानून व्यवसायी घिमिरेले अदालतले माग गरे बमोजिमको कागजात सम्बन्धित गाउँपालिका र अस्पतालबाट आइसकेको जनाउँदै मुद्दाको अन्तिम फैसल गर्न ढिला हुँदा सर्वोच्च अदालतको निर्देशन समेत प्रभावित हुने बताए ।

    उनले अनलाइन नेपालसँग भने–‘सन्दीपविरुद्धको मुद्दा संवेदनशील रहेको र चाँडो नटुंगिदा दुबै पक्षलाई असर परिरहेको छ । त्यसैले दुबै पक्षका कानून व्यवसायीले मुद्दाको अन्तिम सुनुवाईका लागि अदालतलाई अनुरोध र सहयोग गर्नु पर्ने देखिन्छ ।’

    सन्दीपले मुद्दाका कारण हालसम्म करिव ४५ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाइसकेका बताउँदै घिमिरे भन्छन्–‘की मुद्दालाई चाँडो निचोडमा पुर्याउनु पर्यो की खेल्न दिनु पर्यो । त्यो पनि होइन भने जेलमा लानु पर्यो । तर, ढिलो गर्नु भएन ।’

    अन्तिममा आएर मुद्दाको छिनोफानोमा समय गुज्रीदा एकातिर सन्दीप आफै मानसिक दबाबमा छन् भने अर्कोतिर राज्यलाई समेत आर्थिक नोक्सानी भएको र थप नोक्सानी हुने घिमिरेको दावी छ ।

    जिम्बाबेमा हुने एक दिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु भइसकेको छ । प्रशिक्षणमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने भने अनुपस्थित भए । त्रिवि क्रिकेट मैदानमा दुई दिनदेखि प्रशिक्षण चलिरहँदा सन्दीप अनुपस्थित बनेका हुन् । अदालतमा जारी मुद्दाका कारण दक्षिण अफ्रिका जिम्बाबे भ्रमणमा जाने/नजाने तय नभएकाले बन्द प्रशिक्षणमा नगएका हुन् ।

    नेपाल क्रिकेट संघ (क्यान) भने सन्दीपलाई कुनै पनि हालतमा छुटाउने पक्षमा छैन । विश्वकप छनोटका लागि घोषित २२ सदस्यीय प्रारम्भिक टिममा सन्दीपलाई समावेश गरिएको छ । तर, अदालतमा भने अन्तिम सुनुवाई पटक–पटक सर्दै आएको छ ।

    क्यानका प्रवक्ता दुर्गाराज पाठक सन्दीपलाई दक्षिण अफ्रिका र जिम्बाबे लैजाने वातावरण बनाउन सबै पहल भइरहेको बताउँछन् । ‘हामीले आफ्नो तर्फबाट सबै पहल गरिरहेका छौं, उहाँ टिममा नहुँदा हामीलाई धेरै ठूलो धक्का हुन्छ,’ उनले भने ।

    हरेकपटक तारेख बुझ्न २१ दिनभित्र अदालतमा आफैं उपस्थित हुनुपर्ने भएकाले सन्दीपलाई विदेश यात्रामा कठिनाइ भएको हो । नेपालको दक्षिण अफ्रिका र जिम्बाबेको टुर झण्डै डेढ महिनाको छ ।

    यहीबीचमा तारेख बुझ्न अदालतमा उपस्थित हुनुपर्ने भएकाले मंगलबारको सुनवाई स्थगित भएमा दक्षिण अफ्रिका नजान सन्दीपलाई उनका कानून व्यवसायीले पनि सुझाव दिएका छन् ।

    सन्दीपको मुद्दामा २६ चैतमा शंकरराज बरालको इजलासले साक्षीको बकपत्र लिन आदेश दिएको थियो । गत फागुन १५ गते फास्ट ट्य्राकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा पेशी तोकिएपनि पटक–पटक विभिन्न कारणले ढिला हुँदै आएको छ ।

    सन्दीपलाई काठमाडौं जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा पुर्पक्षका लागि जेल चलान गरेको थियो । तर, पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो ।

    सन्दीपले सर्वोच्चोमा पुनरावेदन गरेपछि उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको थियो । मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार