Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वाक् तथा प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक छलफल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भनेका छन्, ''आठौं राष्ट्रिय पत्रकारिता दिवसको सुखद् अवसरमा लोकतन्त्र र संविधानका पहरेदार सम्पूर्ण श्रमजीवी पत्रकारहरूमा सुख, शान्ति, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस सन्दर्भमा लोकतन्त्रको स्थापना एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दछु।

वाक् तथा प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको स्मरण गराउँदै सञ्चारसम्बन्धि नीतिगत व्यवस्था र कानुन निर्माण गर्दा सञ्चार क्षेत्रको प्रतिनिधित्व र समझदारी कायम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। पत्रकारिता पेशाभित्र नै श्रमजीवी पत्रकारहरूले आफ्नो जीवन देख्नसक्ने परिस्थिति निर्माणका लागि सरकारले सम्भव पहल लिने विश्वास दिलाउँदै आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण भूमिका गर्नसमेत सम्वद्ध सबैमा अपील गर्दछु।''

आइतबार विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् भोलिको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077