काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।
प्रचण्डले यसअघि नै दोहोर्याएर विश्वासको मत लिएकामा रास्वपाले समर्थन फिर्ता लिएसँगै तेस्रो पटक पनि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने व्यवस्था छ ।
उक्त धारामा भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ।’ यो व्यवस्थाअनुसार दाहालले जेठ २२ गतेभित्र विश्वासको मत लिन संसदमा जानुपर्नेछ।
पुस १० गते दाहालको नेतृत्वमा सरकार गठन हुँदा रास्वपाले समेत समर्थन दिएको थियो। यसअघि एमाले र राप्रपाले समर्थन फिर्ता लिँदा प्रधानमन्त्री दाहालले चैत २६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए।