काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता जनाएको छ।
आज बिहान पार्टीका निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको हो।
धर्ना स्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरू, अन्य पदाधिकारीहरू, सङ्घ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ सङ्गठनका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको समूह समेत ऐक्यबद्धताका लागि पुगेका थिए ।
आफ्ना मागहरूसहित धर्नामा बसिरहेका महावीर पुन र आविष्कार केन्द्रका टोलीसँगको भेटमा निर्देशन समितिका अध्यक्ष डा लोहनीले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताए ।
आविष्कार केन्द्रका पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा राप्रपालाई धन्यवाद दिँदै अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा राजनीतिक दलका बीच साझा धारणा र एकताबद्ध प्रयास हुनुपर्ने बताए।