काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च प्रविधियुक्त नर्सरी स्थापनाको लागि उपलब्ध गराएको अनुदानमा भ्रष्टाचार गरेको भन्दै १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले कृषि विकाश कार्यालय कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेतसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले खाँडाचक्र नगरपालिकाका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी सिँचाइ तथा ऊर्जा विकाश कार्यालयका तत्कालीन सब–इन्जिनियर गुरुराज संज्यालले सम्भाव्यता अध्ययन नै नगरी ‘हाइटेक नर्सरी सञ्चालन गर्न उपयुक्त छ’ भनेर सिफारिस गरेको आयोगको निष्कर्ष छ ।
सो सिफारिसका आधारमा कर्णाली प्रदेश सरकारले ६६ लाख ५० हजार अनुदान दिएको थियो । आरोपीहरु विरुद्ध आयोगले ६६ लाख ५० हजार बिगो मागदावी लिएको छ ।
मूल्याङ्कन तथा छनोट समितिका पदाधिकारीहरु हरिप्रसाद पण्डित, श्रीधर अधिकारी, दिपक कुमार भण्डारी, हिरानन्द देवकोटा, अनुपत तिवारी, पूर्णबहादुर थापा र होमनाथ लम्साललाई पनि कानुन अनुसार सजाय गर्न आयोगले मागदाबी लिएको छ ।
सिमनाथ कृषि विकास सहकारी संस्था कालिकोटका अध्यक्ष कमल बहादुर शाही र कोषाध्यक्ष सुरेन्द्र्र बहादुर शाहीविरुद्ध विद्युत्त नै नभएको ठाउँमा विद्युत्त चाहिने आयोजनाको माग गरेर रकम लिएर भ्रष्टाचार गरेको आरोपमा ६६ लाख ५० हजार बिगो जफत गर्न र सजाय गर्न मागदावी लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
Leave a Reply