काठमाडौं । नेपाली कांग्रेसले आजको संसद् बैठकमा सत्तापक्षको बेन्चमा बस्ने तयारी गरेको छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दैछ ।
गएको पुस १० गते एमालेसँगको सहकार्यमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षी बनेको थियो ।
एमाले र माओवादी मिलेर सरकार गठन गरेपछि प्रतिपक्षी बेन्चमा बसेको कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत भने दिएको थियो । यसबीचमा माओवादी र एमालेबीच भएको सहकार्य टुटिसकेको छ । फेरि माओवादीले कांग्रेसलगायतका दलसँग गठबन्धन गरेको छ ।
गठबन्धनकै आडमा कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसक्नुभएको छ । आजको संसद् बैठकमा सत्ता पक्षमा बस्नुअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
बैठकले सत्ता पक्ष भएको औपचारिक निर्णय गर्ने बुझिएको छ । एमालेले सङ्घीय संसद् सचिवालयमा प्रतिपक्षी दलको माग गर्दै पत्र लेखिसकेको बताइएको छ ।
Leave a Reply