काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका -१० का अध्यक्ष शम्भु प्रसाद मैनालीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारले विशेष अदालत काठमाडौंमा विगो ९ लाख ३६ हजार कायम राखी मुद्दा दायर गरेको हो।
वडाअध्यक्ष मैनालीमाथि साविक हरिवन गाउँ विकास समिति वडा नं. २ (ग) हाल हरिवन नगरपालिका १० नयाँरोड बजार अन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मूल्य न्यूनतम मूल्याङ्कन पुस्तिकामा उल्लेख भएको न्यूनतम मूल्यभन्दा कम राखी रजिस्ट्रेशन पास गराई राजस्व हिनामिना गरेको आरोप छ।
सो सम्बन्धी उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सो वडाको नयाँरोड बजार अन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको कित्ता नं. ३५१ को जग्गालाई खेतीयोग्य बाटो नभएको भनी राजस्व हानिनोक्सानी गर्ने बदनियतका साथ गलत घरबाटो प्रमाणित गरी सोको आधारमा ९ लाख ३६ हजार राजस्व रकम (सरकारी रकम) हानिनोक्सानी हुन गएको अख्तियारको ठहर छ।