काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् ।
मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनविरुद्ध गद्दारी गरेको बताएका हुन् ।
उनले भने,‘विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो। जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय । भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरु मात्रै बस्छन त्यहाँ । र, यो एउटा बुहतै खतरनाक कुरा हो ।’
उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दावी समेत गरे ।
अध्यक्ष ओलीले मान्छेनै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए । उनले भारतलाई खुशी पार्न प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट आउने तरकारीहरुको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति समेत जनाए ।
नेपालीहरु मारेर भएपनि विदेशीहरुलाई खुशी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको भनाई थियो ।
Leave a Reply