काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व समुदायलाई स्वस्थ राख्न नेपालले बहुमूल्य जडीबुटी निर्यात गर्न सक्ने बताएका छन् ।
राजधानीमा आजबाट सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले त्यसका लागि आवश्यक वातावरण तय गरिने बताए ।
प्रधानमन्त्री प्रचण्डले सातवटै प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडीबुटी सङ्कलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति अगाडि सारिएको बताए ।
गुणस्तरीय आयुर्वेद औषधि उत्पादनतर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवद्र्धन गर्ने सरकारको योजना रहेको उनको भनाई छ । उनले सरकारको तर्फबाट जडीबुटी खेतीका लागि अनुदानका लागि आवश्यक प्रबन्ध गरिने विश्वास दिलाए ।
प्रधानमन्त्री प्रचण्डले आयुर्वेद औषधिको उत्पादनका लागि अतिआवश्यक जडीबुटीको निकासी पैठारीमा रहेको व्यवधानहरू हटाउन नीतिगत निर्णय गरिने उल्लेख गरे ।