काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको बताएकी छिन् ।
शुक्रबार भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेकी हुन् ।
उनले भनिन्, ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिन। तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो। मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ। मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरु रहेछ ।’
राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत बताईन् ।
पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाई थियो । उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भिर नभएको आरोप समेत लगाईन् ।