Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन-२ मा आफूलाई स्वतः विजयी घोषणा गर्न उमेश श्रेष्ठको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ निर्वाचनमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुगेका हुन् ।

उनले आज नै यसबारेमा विस्तृत जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्दै छन् । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको एक सिट खाली रहेको छ।

तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भएका श्रेष्ठ ३४ हजार बढी मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए। लामिछानेको पद खारेजीसँगै दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गर्नुपर्ने माग उनको छ।

नेता श्रेष्ठले निवेदन दिइसकेपछि बोल्दै  आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए । उनले उपनिर्वाचन बाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारे ।

सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेको कारण रहेको भन्दै उपनिर्वाचनको माध्यमबाट सांसदको पदपूर्ति हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077