विराटनगर । इलामको इलाका प्रहरी कार्यालय मंगलबारेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।
भारतको जोगवनीदेखि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका-१५ बाट असइ घनश्याम लाखे पक्राउ परेका हुन्।
उदयपुरको कटारी नगरपालिका-५ घर भएका ३० वर्षीय लाखे प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकलमा सवार थिए।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा १.५२ ग्राम ब्राउन सुगर फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले बताएको छ ।
ब्राउन सुगर बरामद भएसँगै असइ लाखेले चलाएको मोटरसाइकलको पछाडि बसेका इलामको माङ्सेबुङ गाउँपालिका-२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान अघि बढाएको छ।
ब्राउन सुगरको धन्दामा संलग्न रहेको पाइएपछि यसअघि गत मंगलबार पनि विराटनगरबाट नेपाल प्रहरीका सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका थिए।
Leave a Reply