काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको भन्दै अप्रत्यक्ष रुपमा मिडियाहरुलाई धम्की दिएका छन् ।
उनले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको तर्क पेश गरेका छन् ।
गृहमन्त्री क्वार्टरमा ताला लागेपछि चावी लामिछाने आफैले राखेर क्वार्टर कब्जा गरेको, पद लोलुपता भएको, पासपोर्ट काण्डमा छानविन हुनुपर्ने लगायतका विषयमा मुलधारका सञ्चारमाध्यमहरुमा निरन्तर समाचार आउन थालेपछि लामिछानेले घुमाउरो पाराले मिडियाहरुलाई अप्रत्यक्ष धम्की दिंदै फेसबुकमा स्टाटस लेखेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’
आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् । सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमेको छ ।
नागरिकता पुनः प्राप्तिपछि उनी पुनः सरकारमा सोही पदमा फर्कन दौडधुप गरिरहेका छन् । यद्यपि, पार्टीको सङ्कल्पविपरीत चोर बाटोबाट मन्त्री बन्न लागेको तथा पासपोर्ट दुरुपयोगबारे अनुसन्धान जारी रहेका बेला स्वार्थ बाझिने गरी तालुकदार मन्त्रालयमा फर्कन लागेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।